नियम ११७
योजना आयोगको उपाध्यक्षको जिम्मेवारी
ऐनको दफा ५० बमोजिम वित्तीय उत्तरदायित्व बहन गर्ने, गराउने सम्बन्धमा योजना आयोगको उपाध्यक्षको जिम्मेवारी देहाय बमोजिम हुनेछः-
(क) अर्थतन्त्रको विश्लेषण एवं विकास कार्यक्रम, आयोजना तथा बजेट कार्यान्वयनको समीक्षा गर्ने, गराउने,
(ख) राजस्व, वैदेशिक सहायता र आन्तरिक क्ररण सहितको राष्ट्रिय स्रोतको अनुमान गर्ने,
(ग)। आवधिक योजना, नीति तथा कार्यक्रमको कार्यान्वयनको लागि खर्चको आवश्यकता आँकलन गर्ने, गराउने,
(घ) विषय क्षेत्रगत मध्यमकालीन खर्च संरचना तयार गर्ने तथा गर्न लगाउने र समष्टिगत वित्त खाका, बजेट खाका र नतिजा खाका सहितको एकीकृत खर्च संरचना तयार गर्ने,
(ङ) खर्चको आवश्यकता, वित्त अनुशासन, कार्यान्वयन क्षमता, विनियोजन कुशलता र समष्टिगत आर्थिक स्थायित्व समेतको आधारमा विषयगत मन्त्रालय र निकायको बजेट सीमा निर्धारण गर्ने,
(च) विषय क्षेत्रगत मन्त्रालय र निकायको कार्यक्रम तथा बजेट छलफलको समन्वय गर्ने, गराउने,
(छ) आवधिक योजना, वार्षिक कार्यक्रम तथा विकास आयोजनाको कार्यान्वयनको नियमित अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्ने, गराउने ।